Friday, October 15

सेवाग्राहीले बैंकमा राखेको पैसा कर्मचारीले नै निकालेर खाइदिएपछि

April 28, 2021 164

Sapana Sanjal : काठमाडौ ।

सुरक्षाका लागि हामीले बैंकमा पैसा राख्छौं । तर बैंकका कर्मचारीले नै ग्राकहको खाताको पैसा खाइदिएपछि के होला ? हामीले पैसा सुरक्षित गर्न कहाँ लगेर राख्ने ? दैलेखको दुल्लु नगरपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीले सोही बैंकका खातावालाको पैसा निकालेर खाइदिएको खुलेको छ ।

बैंकको दुल्लु शाखामा कार्यरत् जयबहादुर थापाले ग्राहकको पैसा खाइदिएका हुन् । उनले बैंकमा रहेको भवानीप्रसाद आचार्यको खाताबाट ८ लाख रुपैयाँ झिकेको अनुसन्धानवाट खुलेको छ ।

आफ्नो खाताको पैसा हराएपछि खातावालाले प्रहरीमा उजुरी दिन पुगेका थिए । तर उनले प्रहरीमा लिखित उजुरी भने दिएनन् । तर आन्तरिक रुपमा गरिएको अनुसन्धानले बैंकका कर्मचारीले नै बदमासी गरेको खुलेको हो ।

कर्मचारी थापा दुल्लु नगरपालिका(५ का बासिन्दा हुन् भने खातावाला आचार्य पनि दुल्लु नगरपालिका(८ का हुन्। राष्ट्रिय वाणिज्य बैंक दुल्लु शाखाका प्रबन्धक कृष्णप्रसाद उपाध्यायका अनुसार कर्मचारी थापामाथि कारबाहीको लागि प्रक्रिया सुरू भइसकेको छ। खातावाला र बैंकका कर्मचारी दुवै चिनेजानेको ब्यक्ति भएको खुलेको छ ।

पहिला मौखिक रुपमा पैसा निकाल्ने अनुमति ग्राहकले दिएको हुनसक्ने अनुमान बैंक प्रशासनले गरेको छ । पैसा निकालिसकेपछि उनीहरुबीच कुरा नमिलेर उजुरीमा गएको बताइएको छ ।

सहमतिमा खातावाट निकालेको पैसा भनेको समयमा खातामा जम्मा नभएपछि यो कुरा बाहिर आएको हुन सक्ने बैंक प्रशासनको भनाई छ ।

Comment