Saturday, September 18

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामा घोषणा

July 25, 2021 93

Sapana Sanjal : सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दु:ख दिएको दाबी उनले गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासि राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन्।

मुख्य प्रशिक्षकको राजीनामा घोषणापछिको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ। एन्फा प्रवक्ता किरण राईले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा नआएको जानकारी दिएका छन्। ‘म एन्फामा राजीनामा दिन गइरहेको छु। वरिष्ठ उपाध्यक्षका कारण म राजीनामा दिन बाध्य छु’, उनले भनेका छन्, ‘पछिल्लो ३ हप्ता प्रत्येक दिन उनले ममाथि नाटक गरिरहेका थिए। अब उनी खुशी भए होलान्।’

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।

Comment