Saturday, October 16

प्रधानमन्त्री ओली राजिनामा दिने तयारीमा

July 13, 2021 133

Sapana Sanjal : काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गरेपछि सत्ता हस्तान्तरण सजिलो बनेको छ । अदालतले संधिवानको धारा ७६ को ५ अनुसार देउवा नै एक्ला उम्मेदवार भएको र बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको भन्दै ओलीले राजिनामा दिन लागेका हुन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ।

एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताए।

साथै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना बढेको छ। नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो। एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।

Comment