Thursday, August 5

ओलीले वामदेवलाई भने, ‘पार्टी एकताको जिम्मेवारी अब तपाईले सम्हाल्नुस्’

July 2, 2021 85

Sapana Sanjal : काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएकै दिन निकै ठूलो जिम्मेवारी पाएका छन् । गौतमले माधव कुमार नेपाल पक्षलाई पनि समेटेर पार्टी एक बनाउनुपर्ने र त्यसको पहलका लागि आफुले अध्यक्ष ओलीलाई सहयोग गर्ने बताएपछि ओलीले त्यसको जिम्मेवारी नै गौतमलाई दिएका हुन् ।

एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा गौतम पहिलो पटक सहभागी भएका थिए । उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिएका हुन् ।

उपाध्यक्ष गौतम नेकपा बिभाजनपछि कुनै पनि समुहमा नलागी पार्टी एकता अभियानमा लागेका थिए । ओलीले माधव समुहलाई पार्टीको हितमा सहमति गरी फर्काउने जिम्मा गौतमलाई दिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए । नेता गौतमले मन्तब्यका क्रममा माधव कुमार नेपाल र उनको समुहले गलत गरेको भन्दै टिप्पणी समेत गरेका थिए ।

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै एक एमाले नेताले भने, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’ गौतमको सो भनाईको स्वागत गर्दै अध्यक्ष ओलीले भने, ‘एकताको पहल तपाईंले लिनुहोस ।’

Comment