Thursday, August 5

बाढीले तहसनहस पारेको मेलम्चीको अवस्था कहालीलाग्दो

June 17, 2021 146

Sapana Sanjal : अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् ।

मेलम्चीमा मंगलबार रातिदेखिको बाढीले सयवटा भन्दा बढी घर पूर्णरुपमा डुबानमा परेका छन् भने डेढ सय भन्दा बढी घर आंशिक डुबानमा परेका छन् । मंगलबार साँझ नै बाढी आउँदैछ भन्ने सूचना प्राप्त भएपछि ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ । बाढीको भीषण रुप मंगलबार मध्यरातमा देखिएको थियो । यद्यपि साँझदेखि नै बाढी आउने सूचनाका आधारमा स्थानीयवासी सुरक्षित स्थानतर्फ लागिसकेका थिए । उक्त बाढीकै कारण सानाघर पुरिएका छन् भने ४ तला सम्मको घरमा ३ तलामा पुरै लेदोले भरिएको छ भने एक तला भने देखिएको भन्दै एक स्थानीयले बताएका छन् ।

बाढी–पहिरोबाट मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् ।

बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।

जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गर्नुभएको जनाइएको छ ।

त्यस्तै अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् ।

बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन् ।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पु¥याएको छ ।

अत्याधिक वर्षाका कारण नदीको तह बढेको भएपनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ ।

Comment