Tuesday, August 3

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका २ जनालाई सेनाको हेलिकोप्टरले यसरी गर्यो उद्दार

June 16, 2021 240

Sapana Sanjal : काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।

होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन् । हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेको र कतै खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीय त्रसित रहेको उनले बताए ।

बजारका बासिन्दाले घर छाडेर केही माथि सरेका छन् । हिजो हेलम्बुमा बाढी पसेको बेला भागेकामध्ये ६ जना अहिले पनि सम्पर्कविहीन छन् । नेपाली सेना र नेपाल प्रहरीले उनीहरुले खोजी गरिरहेको तर मोबाइल बन्द रहेकाले राति भेटाउन नसकेको र आज बिहानैदेखि खोजी भइरहेको प्रजिअ पोखरेलले बताए ।

बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन् । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Comment