Thursday, August 5

बालाजुमा पैदल हिँडिरहेकी महिलाको सिक्री लुटपाट, एकजना पक्राउ

June 13, 2021 158

Sapana Sanjal : काठमाडौं, जेठ २९ । बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट करिब एक तोला सुनको सिक्री लुटपाट भएको छ ।

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्यूठान झिमरुक गाउँपालिका-१ घर भएका २८ वर्षीय नवीन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ चमती विनायक बस्तीबाट उनलाई उक्त सिक्रीसहित पक्राउ गरेको हो ।

यस्तै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५८ वटा गाडी र १ हजार ३ सय २६ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ४ सय ९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ४ हजार ८ सय ६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ५५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय १४ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Comment