Thursday, June 24

नेपालमा पनि आउँदै खतरा, मुम्बईमा ठूलो वर्षाले क्षती

June 9, 2021 113

Sapana Sanjal : काठमाण्डौ । भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ ।

यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ । वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।

उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ।
मौषमविद् पौडेलका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।

यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्। ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।’

Comment