Thursday, June 24

प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

June 9, 2021 97

Sapana Sanjal : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कसरी लिने कर्जा

अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा रु पाँच लाखसम्म ऋण पाउनसक्ने व्यवस्था छ ।

उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राखुपर्छ ।

यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ ।

यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् ।

Comment