Tuesday, June 15

बुद्धले दिएको सफलता र शान्तीका सटिक सुत्रहरु जान्नुहोस्…

June 8, 2021 79

Sapana Sanjal : गाैतम बुद्ध नाम भन्न साथ शान्ति को प्रतिक वा‍ शान्तिको मार्ग दर्शक भनेर चिनिन्छ । बुद्द अर्थात सिद्धार्थ गौतमले दरबार र राज घरानाको सुख सयलको जिन्दगीलाई त्याग गरेर शान्तिको खोजिमा राजपाट छोडी भिक्षु भई हिँडेका थिए ।

उनले दरबार र राजपाट छोडी भिक्षु भई हिँडेकोले हामीलाई लाग्नसक्छ, बुद्धले संसारबाट विमुख हुन मात्रै सिकाएर गए, निराश हुन मात्रै सिकाएर गए भन्ने होला । उनको शिक्षा भौतिक, व्यापारिक उन्नतिको लागि के नै काम लाग्ला र ? तर बुद्धको शिक्षाको गहिराई सम्मा पुग्नेले मात्र आर्थिक उन्नतिको लागि उद्यमशील रहन पर्छ भन्ने कुरा बुझ्न सक्षम हुन्छन ।

वास्तवमा बुद्धले भिक्षु र गृहस्थ दुवैलाई उद्योगी भएर बस्न बारम्बार भनेका पनि छन् । भिक्षुहरूको लागि उद्योगी हुनु भनेको ध्यानमा दत्तचित्त हुनु हो भने गृहस्थको लागि व्यवसायमा क्रियाशील हुनु हो । त्यसैले बुद्ध कर्मवादी हुन् । तर हाम्रो भाषामा कर्मले दुइटा अर्थ दिन्छ — भाग्य र कार्य ।

कसैले भाग्यलाई नै कर्म भन्छन् र जीवन भाग्यद्वारा निश्चित गरिएको मान्छन र परिश्रम नगरी फल पाउने आशमा बस्छन । यसलाई नियतिवाद (डिटरमिनिजम्) भनिन्छ । त्यसको विपरित कतिले जीवन पूर्ण रूपमा आफ्नै ईच्छाले चल्ने मान्छन् । त्यसलाई स्वतन्त्र इच्छाको सिद्धान्त (फ्री–विल थ्योरी) भनिन्छ । बौद्ध दर्शनको ‘कर्म’ले कस्तो अर्थ राख्छ, त्यसको विवेचना पनि यस आलेखमा पूर्ण रुपमा गरिन्छ । तर त्यसभन्दा अघि बुद्धले सुनाएका एउटा कथाबाट कर्मको उदाहरण पेश गर्ने चेस्टा गरेका छाै ।

राजालाई घत लागेको पुरानो कथा

हुन त बौद्ध धर्ममा कर्मशीलताको प्रवर्धन गर्ने भरपुर कथाहरू छन् । यहाँ उदाहरणको लागि महाजनक जातकको कथा छोटकरीमा प्रस्तुत गर्दछु । महाजनक जातक अत्यन्त गहकिलो कथा हो । थाइलैण्डका स्व. राजा भूमिबल अतुल्यतेजले यसै जातकमा झण्डै बीस वर्ष अनुसन्धान गरेका थिए । अन्ततः सन् १९९७ मा यो कथा प्रकाशित भयो । संयोगवश, त्यही नै साल एशियाका धेरै देशहरूमा अर्थिक संकट देखा प¥यो । अकस्मातको आर्थिक पतनले सबभन्दा पहिला थाइलैण्ड नै आक्रान्त बनेको थियो । त्यसबेला महाजनककै कथाले देशवासीमा मनोवैज्ञानिक उपचारको काम गरेको थियो । सो कथाले समस्याको कुनै अन्त्य नदेखिँदा पनि बोधिसत्वले दृढता र धैर्यतापूर्वक पार लाग्न प्रयत्न गरिरहेको कुरा उल्लेख छ । वास्तवमा सो कथाको उत्कर्ष नै त्यही हो ।

यो जातक नेपालसित पनि जोडिएको छ । किनभने यो मिथिलाको कथा हो, मिथिलाका राजाहरूको कथा हो । कथामा विदेह भनी पनि उल्लेख छ । यो धेरै लामो र रोचक कथा हो । यहाँ सान्दर्भिक छोटा प्रसंग मात्र उल्लेख गर्दछु ।

महाजनक जातक

एकसमय मिथिला राज्यमा महाजनक राजा थिए । उनका दुइ छोरा थिए । दुइ छोराहरूमा असझदारीको कारणले युद्ध हुन्छ र त्यसमा भाइद्वारा दाजु मारिन्छन् । मारिएका दाजुकी श्रीमती गर्भवती थिइन् । युद्धमा आफ्नो श्रीमानको मृत्यु भएको थाहा पाएपछि उनी अनेकौं मूल्यवान रत्नहरू लिई मिथिलाबाट भाग्छिन् । उनी चम्पानगरको एक ब्राम्हणको आश्रममा आश्रय लिनपुग्छिन् ।

समय पुगेपछि रानीले छोरा जन्माइन् । उनको नाम हजुरबुबासित मिल्ने गरी महाजनक भनेरै राखियो । महाजनक ठूलो भएपछि आफ्नो बुबाको गुमेको राज्य लिन तम्सिन्छन् । तर त्यसको लागि त युद्ध गर्नुपर्छ । अनि युद्धको लागि धन आवश्यक हुन्छ । त्यसैले महाजनकले पानीजहाजबाट सुवर्णभूमि गएर व्यापार गर्ने व्यापारीहरू साथ लागेर जाने योजना बनाउँछन् ।

अनि रानीले महाजनकलाई दरबारबाट आफूले लुकाएर ल्याएका रत्नहरू देखाइन् । त्यही बेचेर युद्धको लागि धन जोहो गर्न पुग्छ त किन त्यति ठाढा व्यापार गर्नजानु प-यो र भन्छिन् । तर महाजनकले पुख्र्यौली सम्पत्तिको छोटो बाटो नअपनाई आफैंले आर्जन गरेर मात्र युद्धमा जाने सोच्छन् । यसैबाट पनि युवाहरूले कर्मठ हुनको लागि धेरै शिक्षा लिनसक्छन् ।

व्यापारको लागि सुवर्णभूमि हिँडेको जहाज बीच समुद्रमा दुर्घटनामा पर्छ । मानिसहरू आँत्तिदा माछाका शिकार बन्छन् । तर महाजनक भने रत्ति पनि आँत्तिदैनन् । उनी जहाजको मस्तुलमाथि चढ्छन् । उनले मस्तुलको माथिबाट समुद्रमा सक्दो पर फालहाल्छन् । किनभने जहाज नगिचै डरलाग्दा माछाहरू मान्छे खाँदै बसेका थिए ।

अनकन्तार समुद्रमा उनी पौडिरहन्छन् । उनी सात दिन सात रातसम्म पौडि नै रहन्छन् । कुनै किनारै नदेखिए पनि सात दिन पौडिरहेको मानिस देखेर समुद्रकी रक्षक देवी अचम्ममा पर्छन् । तब देवी प्रकट भएर महाजनकलाई सोध्छिन्, “यहाँबाट समुद्रको किनारा त कतै देखिँदैन । तर पनि तिमी किन यतिबिध्न पौडिने कष्ट गरिरहेछौ ?”

तब महाजनकले जवाफ दिन्छन्, “म मान्छेले गर्नुपर्ने कर्तव्यलाई विचार गरेरै कतै किनारा नदेखिए पनि प्रयत्न गरिरहेको हुँ ।”

फेरि देवी भन्छिन्, “समुद्रको किनारा नै नदेखिने यस ठाउँमा यत्न गरेर पनि के फाइदा हुन्छ ? समुद्रको अन्त्य नभेटिंदै तिम्रो अन्त्य हुन्छ भन्ने कुरा त निश्चित नै छ ।”

महाजनकले फेरि जवाफ फर्काउँछन्, “उदेश्यको पूर्ति भनेको गाह्रो काम हो । मानिस आफ्नो प्रयासमा सफल पनि हुनसक्छ, असफल पनि हुनसक्छ । तर ज्यान रहुञ्जेल प्रयत्न छोड्नु मानिसको कर्तव्य होइन । यो प्रयत्नको फाइदा त प्रत्यक्ष नै छ । प्रयत्न गरेकैले त म अहिले तपाईंसित बोल्नपाइरहेको छु ।”

अनि महाजनकको उत्तरबाट प्रभावित भएर देवीले उनलाई भन्छिन्, “यस्तो अनन्त र गहन महासागरमा तिमी निराश नभई प्रयत्नरूपी कर्म गर्दैछौ । त्यसबाट म अत्यन्त प्रभावित भएँ । भन तिमीलाई कहाँ पुग्नुपर्ने हो, म त्यहीँ पु¥याइदिन्छु ।”

महाजनकले आफू मिथिला जान चाहेको बताए । अनि देवीले आमाले दूधे बच्चा उचालेजस्तै उचालेर केही बेरमै मिथिलाको एउटा बगैंचामा पु-याइदिइन् । त्यसबेला मिथिलाका राजाको भरखरै देहान्त भएको थियो । उनको कुनै पुत्र नभएको कारण राजा बनाउन योग्य व्यक्तिको खोजी भइरहेको थियो ।

दरबारभित्र कुनै योग्य व्यक्ति फेला नपरेकोले मिथिलाका पुरोहितले मंगल रथ बनाई चार धोडाहरूले तान्न लगाई राजा हुन योग्य व्यक्तिको खोज गरिरहेको रहेछ । सो रथ बगैंचामा सुतिरहेको उनको अघि गएर रोकियो । त्यसरी हर्सोल्लासका साथ मिथिलाका जनताले उनलाई नयाँ राजा चयन गरे ।

राजा भइसकेपछि उनले बेलाबखत भन्ने गरेका थिए कि उनले अन्त्यहीन समुद्रमा पराक्रम नगरेको भए उनले यो दिन नदेख्ने थिए । समुद्रमा भएको घटनाबाट जनतालाई पनि जस्तोसुकै संकटमा पनि हरेश नखान र प्रयास जारी राख्न उत्प्रेरित गरिरहन्थे । अहिले विश्व नै महामारी र आर्थिक ओरालोको चपेटामा छ । यसको अन्त्य अहिले तत्कालै देखिँंदैन । बुद्धका कथाहरू यस्तो बेला धेरै काम लाग्छ ।

अन्य परीकथाहरू जस्तै यो कहानी यतिकैमा मात्रै टुंगिंदैन । महाजनकका छोरा ठूलो भएपछि छोरालाई राज्य हस्तान्तरण गर्दै आफू सन्यासी भई जंगलतिर प्रस्थान गर्छन् । दरबार र सारा प्रजाको विरोधको बावजूद पनि उनी आध्यात्मिक उन्नतिको लागि बन प्रस्थान गर्छन् । कथाको यो पक्ष पनि उत्तिकै मार्मिक र सशक्त छ । आजन्म शक्तिमा लिप्त रहने नेपालका वृद्ध नेताहरूले यस्ता कथाहरू पढेर सिक्नु आवश्यक छ । वास्तवमा जीवनमा भौतिक र आध्यात्मिक उन्नतिको सन्तुलन हुनुपर्दछ ।

थोरै मूलधनबाट धेरै उन्नति कसरी

कर्मशीलताको अर्को उपदेश चुल्लसेट्ठी जातकमा पाइन्छ । यो पनि एउटा रोचक र उत्साह प्रदायक कथा हो । तर एउटा आलेखमा कथा अटाइँदैन । त्यसैले त्यसको मूख्य शिक्षा मात्र प्रस्तुत गर्दछु । त्यस कथामा एउटा गरीब मानिसले आफ्नो मेहनत र बुद्धिको अथक प्रयोगबाट थोरै समयमा नै धेरै सम्पत्ति हासिल गरेको उल्लेख छ । सो कुरा बुझेर शहरको धनाढ्यले समेत उनलाई आफ्नी छोरी दिन रुचाएको थियो । कथाको अन्त्यमा बुद्ध भन्छन्,

अप्पकेनपि मेधावी, पाभतेन विचक्खणो ।

समुट्ठापेति अत्तानं, अणु अग्गिंव सन्धम’न्ति ।।

अर्थात, जसरी आगोको सानो टुक्रालाई पनि फुक्दा फुक्दै ठूलो आगो बनाउन सकिन्छ, त्यस्तै दक्ष र मेधावी मानिसले थोरै मूलधनबाट पनि धेरै उन्नति गर्दै लान्छ ।

यस्ता अनेकन कथा र उपमासहित बुद्धले कर्मशीलतालाई नै विशेष प्रोत्साहन दिएका छन् । बुद्धको शिक्षामा कतै पनि आलस्यतालाई स्थान छैन । जहाँ पनि परिश्रम गर, उद्योगी होऊ भन्ने शिक्षा छ । निश्चय पनि त्यो परिश्रमसित बुद्धि पनि जोडिएको हुनुपर्दछ ।

बुद्धको कर्मवाद के हो, बृस्तित मा जान्नु होस

धेरैजसो धर्महरूमा ईश्वरलाई सर्वशक्तिमान मानिन्छ । तर बुद्धधर्ममा कर्म नै सर्वशक्तिमान मानिन्छ । बुद्धधर्ममा ईश्वरको स्थान कर्मले लिएको छ । कर्मभन्दा माथि कोही छैन । बुद्ध पनि कर्मको नियममा नै बाँधिएका छन् । सम्यकसम्बुद्ध भइसक्दा पनि गौतम बुद्धले पहिले गरेका नराम्रा कर्मका फल भोगेका थिए । त्यसैले बौद्धदर्शनलाई कर्मवादी भनिन्छ ।

तर बौद्धदर्शनमा कर्मवादको अर्थ भाग्यवाद होइन । बौद्ध दर्शनमा कर्मको अर्थ के हो त ? भाग्यले हामीलाई बनाउने हो वा हामीले भाग्य बनाउने हो ? सबै कुरामा मध्यम मार्गी भएजस्तै बौद्ध दर्शन कर्मको सिद्धान्तमा पनि मध्यमार्गी नै छ । अर्थात हाम्रो पूर्वकर्म अनुसार हाम्रो भाग्य बनेको हुन्छ । त्यसको प्रभाव हाम्रो वर्तमान जीवनमा अवश्य रहन्छ । तर वर्तमान कर्म अर्थात अहिले हामी के गर्छौं त्यसले पनि हामीलाई प्रभाव पार्छ । हाम्रो भविष्य हाम्रा पूर्वकर्म र अहिले गरिने कर्मको जोडबाट बन्ने हो ।

बुद्धको कर्मफलको सिद्धान्तलाई बिरुवाको उदाहरणबाट बुझ्नसकिन्छ । हामीले जन्मिदै पूर्वकर्मको फलस्वरूप केही बिउ लिएर आएका हुन्छौं । तिनमा राम्रो फल दिने बिउ पनि हुन्छन्, नराम्रा फल दिने पनि । बिउ जे छ त्यही नै बिरुवा उम्रिने हो र त्यही नै फल पाउने हो । तर मुख्य कुरा के हो भने बिउ हुँदैमा फल फलिहाल्छ भन्ने होइन । त्यसको लागि त बिउ उपयुक्त माटोमा पर्नुपर्छ, गोडमेल हुनुपर्छ, सिँचाइ भइरहनुपर्छ । जीवनमा राम्रा कुरालाई सिँचाइ गर्ने वा नराम्रा कुरालाई, त्यो आफ्नै हातको कुरा हो ।

त्यसैले बौद्धदर्शन नियतिवादी (डिटरमिनिस्टिक) होइन । त्यसो भन्दैमा पूर्ण रूपमा स्वतन्त्र इच्छामा (फ्री विल) विश्वास गर्ने पनि होइन । कतिपय पूर्वीय धर्महरूले भाग्यमा नै विश्वास गर्न भन्छन् । फेरि कतिपय पाश्चात्य उत्प्रेरकहरूले (मोटिभेशनल स्पीकर) सबै कुरा आफ्नै इच्छाले सम्भव हुन्छ भनेर उचाल्ने गर्दछन् । पूर्ण स्वतन्त्र इच्छा (फ्री विल) पनि अवास्तविक अतिशयोक्ति हो । उत्ताउलो उत्तेजक कुरा हो । हामीले वास्तविक धरातलमा उभिएर जीवनको योजना बनाउँदै अघि बढ्नुपर्छ ।

कर्मवादको प्रयोग

यो त हामीले स्वीकार्नुपर्छ कि कस्तो परिवारमा हाम्रो जन्म हुन्छ हाम्रो छनौटको विषय होइन । अनि हाम्रा बुबा, आमा, परिवारका सदस्य पनि हाम्रो चयनको विषय होइन । आफ्नै शरीरको स्वरूप पनि हाम्रो चाहनाले बनेको होइन । कतिपय प्रतिभा पनि जन्मजात हुन्छन् । तिनलाई भाग्यकै कुरा मान्नुपर्छ । तिनमा हाम्रो केही लाग्दैन । तर जन्मेपछि आफ्नो जीवनको भविष्यलाई डो-याउन के गर्छौं, त्यो केही हदसम्म हाम्रो आफ्नो हातमा छ । त्यसैले कोही मानिस गरीब परिवारमा जन्मेर पनि आफ्नो मेहनतले धनी बन्छन् । कोही भने धनी परिवारमा जन्मेर पनि आफ्नो मूर्खताले आफैंलाई भड्खालोमा हाल्ने हुन्छन् । त्यसैले भाग्यवादमा विश्वास गर्नेले राम्रै भाग्य पाए पनि त्यसले आफ्नो जीवन आफैं बर्बाद पार्न पनि सक्छ ।

हो, जीवनका धेरै परिस्थितिहरूमा हाम्रो केही लाग्दैन । तिनलाई स्वीकार्नुपर्छ । साथै हामीले ती कुराहरूमा आफूलाई केन्द्रित गर्नुपर्छ जुन हाम्रो हातमा छ । जस्तो कि,

* अहिले म के सोच्छु (सकारात्मक वा नकारात्मक ?)

* मैले जीवनमा कस्तो खालको दूरदृष्टि (भिजन) राख्छु

* म के संकल्प गर्छु

* म अहिले के कार्य गर्छु

अहिले म के सोच्छु र के गर्छु त्यो मेरो वर्तमान र भविष्यको लागि सबभन्दा महत्त्वपूर्ण हुन्छ । म नकारात्मक कुरा सोचेर पनि समय बिताउनसक्छु । सकारात्मक रूपमा अगाडि बढ्ने तरिकाहरू पनि सोच्नसक्छु । हाम्रा सोचाइ र कार्यहरू हाम्रो दूरदृष्टि र संकल्पसित मेल खाने हुनुपर्छ । यदि हामी सक्रिय र क्रियाशील हुँदैनौं भने हामीले जतिसुकै ठूलो सोच राखेको भए पनि त्यसले हामीलाई कतै पु¥याउँदैन । त्यसैले हामीले आफूले बनाएको दूरदृष्टि (भिजन) अनुरुपको कार्ययोजना बनाउनुपर्छ । हाम्रो भविष्य हाम्रो कार्यमै निर्भर हुने भएकोले हामीले दीर्घकालीन र तत्कालीन कार्ययोजना बनाउनुपर्छ र त्यही अनुरुप कार्य गर्दै जानुपर्छ ।

वर्तमानको शक्ति सबै भन्दा शक्तिसाली

वास्तवमा बौद्ध दर्शन भनेको वर्तमानलाई विशेष महत्त्व दिने दर्शन हो । विगतको प्रभाव त हामीमा हुन्छ, तर हामीले जेजति गर्नसक्छौं, त्यो वर्तमानमा नै मात्र सम्भव छ । चाहे ध्यान–साधनामा होस् वा भौतिक उन्नतिको मार्गमा होस्, बुद्धले वर्तमानमा सक्रिय र होसपूर्वक रहन भनेका छन् ।

बौद्धदेशहरूमा गरिने प्रार्थनाको श्लोक भन्छ—

अतीतं नान्वागमेय नप्पतिकंखे अनागतं

यदातीतम्पहीनन्तं अप्पतञ्च अनागतं

अर्थात, बितेका कुरामा धेरै घोत्लिनु हुँदैन । भविष्यको चिन्ताले बेचैन हुनु पनि हुँदैन । विगत बिति नै सक्यो, भविष्य त आएकै छैन ।

यदि हामी भौतिक उन्नति गर्नचाहन्छौं भने आफ्नो हातमा नभएका (विगत र भविष्य) कुरालाई छोडेर वर्तमानमा जे गर्नु सबभन्दा उत्तम हुन्छ, त्यसैमा लाग्नुपर्छ ।

अनि आध्यात्मिक उन्नति गर्नेको लागि वर्तमानमा स्मृति राख्नुको महत्त्व त भन्नै पर्दैन । प्रार्थनाको अर्को श्लोक भन्छ—

पच्चुपन्नाच यो धम्मं तत्थ तत्थ विपस्सति

असंहिरं असंकुप्पं तं विद्धा मनूब्रूहये

जसले वर्तमानमा भइरहेका कुरालाई जस्ताको तस्तै देख्छन्, ती स्थिर, अविचलित र निश्चिन्त रहन्छन् । त्यस्ता क्षणहरूको सञ्चय गर्नुपर्छ ।

यि बुद्दका ज्ञानमार्ग हरु बुझ्न र आफ्नो दैनिक जीबनमा प्रयोग ल्याउन सके सफलरा र शान्तिको बाटो निकै सहज बन्ने छ ।

Comment