Friday, October 15

हिमालिभागका जनताका लागि काल बन्दै यार्सागुम्बा !!!

June 3, 2021 335

Sapana Sanjal : दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।

आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो साताबाट सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।घरमा खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो l

स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् ।घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको सङ्कलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बताउनुभयो ।

गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।यस्तै जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । “मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्”, अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्कीले भन्नुभयो, “गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।

Comment