Thursday, June 24

म प्रधानमन्त्री बन्दैछु भनेर झुक्याएर गराएको हस्ताक्षर माधव नेपालले देउवालाई बुझाए

May 23, 2021 99

Sapana Sanjal : काठमाडौ ।

माधव कुमार नेपालले आफ्ना पक्षका सांसदलाई झुक्याएर हस्ताक्षर गराएर शेरवहादुर देउवालाई बुझाएको आरोप नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लगाएका छन् । म प्रधानमन्त्री बन्दैछु भनेर छलफलका लागि बोलाएर गरेको हस्ताक्षर देउवालाई बुझाएको आरोप ओलीले लगाएका हुन् ।

नेपालले आफू प्रधानमन्त्री हुन लागेको भनेपछि अस्वीकार गर्न नसकेका एमालेका सांसदहरुले हस्ताक्षर गरेको उनको भनाई छ । मै प्रधानमन्त्री बन्छु भनेपछि सांसदहरुले अस्वीकार गर्न सकेनन् सो हस्ताक्षर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दुरुपयोग गरियो ओलीले भने ।

‘म प्रधानमन्त्री हुने भएँ भनेपछि हार्न नसकेर गरेको हस्ताक्षरलाई आफ्नो पार्टीको प्रधानमन्त्रीविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दुरुपयोग गरियो,’ उनले भने, ‘हेर्नुस् त कस्ता कस्ता नन्दी भिरंगीसँग मिलेको छ।’

आइतवार मिडियाका सम्पादकहरुलाई बोलाएर अध्यक्ष ओलीले संसद विघटन गर्नुका कारणवारे स्पष्ट पार्ने कोशिष गरेका थिए । प्रधानमन्त्री ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले नाम नतोकिकन ‘चारजनाका कारण देश अस्तव्यस्त भएको’ टिप्पणी गरेका हुन् ।

उनले भने, ‘चार पटक प्रधानमन्त्री भएका, पार्टीको सभापति भइसकेका, ७० वर्ष कटिसकेका मानिसहरुले अस्तव्यस्त बनाएका छन्,’ उनले भने, ‘उहाँहरुलाई आफ्नो अहम्, आफ्नो इगोको चिन्ता छ, देशको होइन ।’ उनीहरुमा अतृप्त भोक, कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै प्यास नमेटिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश बिग्रिनुको मुख्य कारण यही नै रहेको दावी गरे ।

Comment