Tuesday, June 22

अन्ततः ओलीले जे चाहे त्यहि गरिन राष्ट्रपति भण्डारीले, पुनः प्रतिनिधिसभा विघटन, निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते

May 22, 2021 92

Sapana Sanjal : मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि आजै मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गर्दै खारेज गरेकी थिईन ।

राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का १२१ र जनता समाजवादी पार्टी नेपालका ३२ सदस्यको समर्थन प्राप्त भएको दावी गरे पनि एमालेका २६ र जसपाका १२ जनाले अर्का दावीकर्ता कांग्रेस सभापति देउवालाई हस्ताक्षर गरेको देखिएको जनाइएको छ ।

त्यस्तै सभापति देउवालाई कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र)का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर भए पनि एमाले र जसपा पार्टी र संसदीय दलका अध्यक्षका तर्फबाट आफ्ना दलका सदस्यको सो हस्ताक्षरलाई अस्वीकृत गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दावीकर्ता दुवै प्रतिनिधिसभा सदस्यका समर्थक भनिएका सदस्य एकार्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखिआएको तथा संविधानको धारा ८९ एवं राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई ध्यानमा राख्दा दुवैले विश्वास प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । राष्ट्रपतिले आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् ।

Comment