Monday, June 14

सावधान ! कोरोनाले आक्रान्त बनाएको काठमाडौंमा, कोरोनाको बाहिरियो डरलाग्दो तथ्याङ्क

May 20, 2021 98

Sapana Sanjal : नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

मन्त्रालयका अनुसार देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा काठमाडौं जिल्लामा २,६०० जनामा तथा भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा कोभिड-१९ पुष्टि भएको हो। देशभर कोरोना संक्रमित थपिएका मध्य आधा जति काठमाण्डौ उपत्यकामा रहेका छन् जुन निकै डरलाग्दो हो । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,५४३ जना सङ्क्रमणमुक्त भएका छन्।

कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भनीन् ।

सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

कामपाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय कामपामा सङ्क्रण दर अत्यधिक बढेको छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।

“गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ”, प्रमुख कुँवरले भनिन् ।

अहिले देशभरि १,१५,८०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। यसअघि बुधवार मन्त्रालयले ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको थियो। केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो। हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई “भेरिअन्ट अफ ग्लोबल कन्सर्न” भनेर वर्गीकरण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चिन्ताको विषय हो। “भारतसँग खुला सीमा रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा सङ्क्रमण बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो।” नेपालमा पूरै जीनोम सीक्वन्सिङ गर्न सक्ने अवस्था नभएका कारण पुष्टि हुन समय लागेको उनी बताउँछन्। उक्त भेरिअन्टको प्रकृतिबारे डा. खड्काले थपे, “यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।”

“तर वास्तवमै यसको के कति प्रभाव छ भन्ने कुराको निर्क्योल हुन अझ बाँकी नै छ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय भारतमा जस्तै सङ्क्रमणदर देखिन थालेपछि जीन सीक्वन्सिङका निम्ति नमुनाहरू सङ्कलन गरियो। “यसरी छिटो सङ्क्रमण फैलिनुमा कुन भेरिअन्ट जिम्मेवार छ भनेर हामीले सुदूरपश्चिमस्थित प्रवेशबिन्दुदेखि लिएर देशका विभिन्न ठाउँबाट नमुनाहरू सङ्कलन गरी भारत पठायौँ,” उनले भने।

Comment