Tuesday, June 15

सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

May 16, 2021 116

Sapana Sanjal : सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिण्डर छन् ।

यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् ।उहाँका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।

उहाँले हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

Comment